पृथ्वी राजमार्ग आज साँझसम्म पूर्णरूपमा खुल्न सक्ने
चितवन, असोज ४- पृथ्वी राजमार्गअर्न्तगत मुग्लिङ-नौबिसे सडकखण्डको फिस्लिङको पहिरो पन्छाएर साँझसम्म पूर्णरूपमा सञ्चालनमा ल्याइने भएको छ। गत शुक्रबार बिहान ५ बजेबाट अवरुद्ध बनेको सो सडक शनिबार साँझबाट एकतर्फीरूपमा सञ्चालनमा आएको थियो।
डिभिजन सडक कार्यालय भरतपुरले रकब्रेकरसहितको एक्साभेटर र डोजरको सहायताले सडक पन्छाउने कार्य तीव्र गतिमा भइरहेको हुँदा साँझसम्ममा बाटो पूर्णरूपमा खुल्ने जनाएको छ।
डिभिजनल इन्जिनियर अशोक तिवारीका अनुसार १०-१५ मिनेटका दरले बाटो बन्द गर्दै सडकको पहिरो हटाउने कार्य भइरहेकाले साँझसम्ममा पूर्णरूपमा सडक खुल्नसक्ने विश्वास लिइएको छ।
पहिरोग्रस्त क्षेत्रमा सवारीसाधन गुड्दा त्यसको कम्पनले ढुङ्गा झर्ने सम्भावना भएकाले पूरै सफा गर्ने काम भइरहेको पनि उनले बताए।
मुग्लिनबाट १५ किलोमिटर काठमाडौँतर्फ फिस्लिङ नजिकै पहिरो खसेपछि सो पहिरो हटाउन दुईवटा ठूला उपकरणसहित प्रहरी र डिभिजन सडक कार्यालयका कर्मचारी खटिएका छन्। रासस
No comments:
Post a Comment